गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दर्ता
काठमाडौं — जेन–जी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक निवेदन दर्ता गरेको छ।
संगठनका प्रवक्ता विजय शाहले निवेदनमा गृहमन्त्रीमाथि गम्भीर आरोप सार्वजनिक भइसकेको भन्दै उनी पदमा रहिरहँदा निष्पक्ष अनुसन्धान प्रभावित हुने ‘स्वार्थको द्वन्द्व’ अवस्था सिर्जना भएको दाबी गरेका छन्।
निवेदनमा मुलुकी फौजदारी संहिताको प्रावधान उल्लेख गर्दै गम्भीर आरोप लागेका व्यक्तिलाई आवश्यक परे पक्राउ गरी अनुसन्धान अघि बढाउन सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ। साथै पदमा बसेर अनुसन्धानमा प्रभाव पार्ने कार्य “सबुत नष्ट गर्ने वा अनुसन्धान अवरोध गर्ने अपराध” अन्तर्गत पर्न सक्ने जिकिर गरिएको छ।
गृहमन्त्रीमाथि राजनीतिक आधारमा आन्दोलनको दुरुपयोग, आर्थिक लाभ लिने प्रयास तथा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप पनि लगाइएको छ। साथै आन्दोलनका क्रममा भएको क्षति र शहीदहरूप्रति अपमान भएको दाबी गरिएको छ।
निवेदनमार्फत जेन–जी मुभमेन्टले गृहमन्त्रीलाई पदबाट हटाउन सरकारलाई सिफारिस गर्न, तत्काल पक्राउ गर्न, निष्पक्ष छानबिन अघि बढाउन तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेको जनाएको छ।