कर्णालीमा इन्धन मूल्य वृद्धिप्रति आपत्ति, फिर्ता लिन घिसिङको सरकारसँग माग
सुर्खेत — उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङ ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।
कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज वीरेन्द्रनगर मा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा इन्धनको मूल्य वृद्धि अत्यन्तै बोझिलो हुने बताएका हुन्।
घिसिङले कर्णालीमा डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा मूल्य वृद्धि नगरी विशेष सहुलियत दिनुपर्नेमा जोड दिए। “यो क्षेत्र आफैँमा विकट भएकाले यातायात खर्चिलो छ, त्यसैले यहाँ इन्धनमा मूल्य वृद्धि हुनु हुँदैन,” उनले भने।
उनले छिमेकी भारत मा हाल इन्धन मूल्य स्थिर रहेको उल्लेख गर्दै सरकारले नागरिकमाथि पर्ने आर्थिक भार घटाउन र मूल्य संरचना (स्तरीकरण) पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा उनले वर्तमान सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, नेपाल विद्युत् प्राधिकरणमा रहँदा र सरकारमा हुँदा कर्णालीको विद्युतीकरण तथा प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गरे।
उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म अघि बढिरहेको छ। उनले पार्टी संगठन विस्तारका क्रममा प्रारम्भिक चरणमा समय अभावका कारण अपेक्षित परिणाम नआए पनि आगामी चुनावमा उनेपा बलियो शक्तिका रूपमा उदाउने दाबी गरे। साथै, वडा तहसम्म संगठन विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए।