जेनजी आन्दोलन: काठमाडौंमा ७ शव अझै पहिचान हुन बाँकी, डीएनए परीक्षण जारी
काठमाडौं — गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा मृत्यु भएका मध्ये ७ जनाको शवको पहिचान अझै हुन सकेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आन्दोलनका क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो। तीमध्ये ४२ जनाको शव पहिचान गरी सम्बन्धित परिवारलाई बुझाइसकिएको छ भने बाँकी ७ शव अझै पहिचानविहीन छन्।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले ती शवहरू जलेको अवस्थामा कंकाल मात्र बाँकी रहेकाले पहिचान कठिन भएको बताए। उनका अनुसार पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ।
काठमाडौंमा भएको उक्त आन्दोलनका घटनापछि मृत्यु भएका व्यक्तिहरूको पहिचान र पोस्टमार्टम प्रक्रिया अझै पूर्ण रूपमा सम्पन्न हुन बाँकी छ।