पाउद्वार मुर्ताला धार्मिक गुफा पर्यटकको पर्खाइमा, पूर्वाधार विकास सुरु
म्याग्दी — अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पाउद्वार मुर्ताला धार्मिक गुफा धार्मिक तथा प्राकृतिक आकर्षणका रूपमा परिचित भए पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेको उक्त गुफाभित्र अनौठा प्राकृतिक आकृतिहरू अवलोकन गर्न सकिन्छ। स्थानीय जसे पुनका अनुसार गुफाभित्र देवी–देवता, मानव शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर र सिङजस्ता आकृतिहरू देख्न पाइन्छ।
करिब १० मिटर लामो दुईतले गुफाभित्र लगातार पानी चुहिरहने विशेषता रहेको छ। भित्र अँध्यारो भएकाले बत्ती वा ‘लाइट’ प्रयोग गर्नुपर्ने र भुइँ चिप्लो भएकाले सावधानीपूर्वक घोप्टो परेर हिँड्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
गुफासम्म हाल स्थानीय स्तरमा पदमार्ग सुधार गरिएको छ। पाउद्वारकी पुर्जा रोकाले आमाको पेन्सन रकम प्रयोग गरेर करिब ३०० मिटर पदमार्ग निर्माण गरेकी छन् भने स्थानीयवासीले श्रमदान गरेका छन्। त्यस्तै झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण गरिएको छ र करिब ५०० मिटर विद्युत् लाइन विस्तार गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित तीन लाख रुपैयाँ बजेटमा पूर्वाधार सुधार भएपछि गुफासम्म पहुँच सहज भएको छ। पाउद्वार गाउँबाट सवारीसाधनमा करिब १० मिनेट र पैदल २० मिनेटमा गुफा पुग्न सकिन्छ।
गुफाभित्रका आकृतिहरूले धार्मिक र ऐतिहासिक महत्व बोकेको अनुमान गरिएको छ। गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनका अनुसार गुफाबारे विस्तृत अध्ययन–अनुसन्धान गरी यसको धार्मिक तथा ऐतिहासिक पक्ष उजागर गर्ने तयारी भइरहेको छ।
स्थानीयवासीले गुफालाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न अध्ययन, संरक्षण, पूर्वाधार विस्तार र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। हालसम्म बाह्य पर्यटकको उल्लेखनीय आगमन नभए पनि सम्भावनायुक्त गन्तव्यका रूपमा यसको विकास गर्न पहल भइरहेको छ।