सांसदलाई कूटनीतिक राहदानी दिन कानुन परिमार्जनको तयारी
प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी सुरु गरिएको छ।
बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरूसँग यस विषयमा छलफल गरेका हुन्। छलफलमा सांसदहरूलाई कूटनीतिक राहदानी कसरी सहज रूपमा उपलब्ध गराउने भन्ने विषयमा कानुनी व्यवस्थाभित्र रहेर समाधान खोज्नेमा जोड दिइएको थियो।
राप्रपा प्रमुख सचेतक खुश्बु ओलीका अनुसार, हाल राहदानी ऐनमा तोकिएका पदाधिकारीले मात्र विशेष काममा जाँदा कूटनीतिक राहदानी पाउने व्यवस्था भएकाले सांसदहरू विदेश भ्रमणमा जाँदा समस्या देखिएको छ।
उक्त व्यवस्थालाई संशोधन गरी सहजीकरण गर्नेबारे दलहरूबीच थप छलफल गर्ने र पुनः सभामुखसँग बैठक गर्ने सहमति भएको छ।