अमेरिकी कारबाहीपछि इरानको चेतावनी, तनाव बढ्यो
तेहरान — इरान को संयुक्त सैन्य मुख्यालय ‘खातम अल–अन्बियाले’ अमेरिकी नौसेनाले इरानी जहाजमाथि गरेको कारबाहीलाई “सशस्त्र समुद्री डकैती” भन्दै कडा जवाफ दिने चेतावनी दिएको छ।
इरानले ओमानको खाडीमा भएको घटनालाई डकैतीको संज्ञा दिँदै आपत्ति जनाएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानी जहाज नियन्त्रणमा लिइएको पुष्टि गरेका थिए।
घटनापछि मध्यस्थतामा पाकिस्तानको इस्लामावादमा हुने भनिएको अमेरिका–इरान शान्ति वार्ताको दोस्रो चरण अनिश्चित बनेको छ। इरानले वार्तामा सहभागी नहुने संकेतसमेत दिएको छ।
इरानले अमेरिका माथि अव्यवहारिक सर्त, बारम्बार अडान परिवर्तन र गलत प्रचार गरेको आरोप लगाउँदै वार्ताको वातावरण बिग्रिएको जनाएको छ। साथै अमेरिकी नाकाबन्दीलाई युद्धविराम सम्झौताको उल्लङ्घन भन्दै आलोचना गरेको छ।
२२ अप्रिलमा युद्धविराम समाप्त हुने समय नजिकिँदै गर्दा दुवै देशबीचको तनाव बढ्दै गएको छ र कूटनीतिक वार्ता हुने सम्भावना कमजोर बनेको विश्लेषण गरिएको छ।