अफगानिस्तानको बदाख्सानमा हिमपहिरो, चार जनाको शव फेला
अफगानिस्तानको उत्तरी बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ। प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरका अनुसार तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परेर ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला पारिएको हो।
शव फेला परेपछि मृतकका परिवारलाई हस्तान्तरण गरिएको अधिकारीहरूले बताएका छन्। घटनाबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
बदाख्सानसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्ला हप्ताहरूमा भारी वर्षा, बाढी र हिमपात भएको थियो। हाल भने मौसम क्रमशः शान्त हुँदै गएको जनाइएको छ।