सरकारी वेबसाइटलाई पहुँचमैत्री बनाउन नयाँ वेब सुविधा कार्यान्वयन
काठमाडौँ — सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।
सूचना प्रविधि विभाग अन्तर्गतको सरकारी एकीकृत वेब साइट व्यवस्थापन प्रणाली (GIWMS) मार्फत सुरु गरिएको यो पहल विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार अब सरकारी वेबसाइटहरू केवल किबोर्ड प्रयोग गरेर मात्र पनि पूर्ण रूपमा सञ्चालन गर्न सकिनेछ। यसले माउस प्रयोग नगरीकनै वेबसाइटका सबै भागमा पहुँच सुनिश्चित गर्नेछ।
त्यस्तै, ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्था गरिएको छ, जसले स्क्रिन रिडर तथा किबोर्ड प्रयोगकर्तालाई मुख्य सामग्रीमा सिधै पुग्न सहज बनाउनेछ। वेबसाइटमा रहेका तस्बिर, लोगो र चिह्नहरूमा ‘अल्ट टेक्स्ट’ समावेश गरिएकाले दृष्टिविहीन प्रयोगकर्ताले पनि सामग्री बुझ्न सक्नेछन्।
फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू अब स्पष्ट रूपमा सुन्न र बुझ्न मिल्ने गरी बनाइएको छ। सर्च, सम्पर्क फाराम लगायत इनपुट क्षेत्रहरूमा स्पष्ट लेबल राखिएकाले प्रयोगमा सहजता आउने विभागले जनाएको छ।
त्यस्तै, किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्रको स्थान स्पष्ट देखिने दृश्य संकेतहरू पनि समावेश गरिएको छ। फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडरमैत्री बनाइएको छ।
विभागका अनुसार यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि धेरै परिवर्तन नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुनेछन्।
महानिर्देशक साहका अनुसार यी पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच दिलाउने लक्ष्यलाई सुदृढ बनाउनेछ र समावेशी तथा प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।