उपकुलपतिहरूसँग प्रधानमन्त्री शाहको छलफल आज
काठमाडौँ, वैशाख — प्रधानमन्त्री वालेन्द्र शाह ले आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। बैठक मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ। बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूले सामना गरिरहेका समसामयिक समस्या, तिनका समाधानका उपाय र तत्कालै समाधान गर्न सकिने विषयहरूमा विशेष केन्द्रित छलफल हुने जनाइएको छ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपतिहरू सहभागी हुनेछन्।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ।
सरकारले उच्च शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा नीतिगत सुधारका लागि यस्तो छलफललाई महत्वपूर्ण रूपमा लिएको बताइएको छ।