कपिलवस्तुमा सुन चोरी गिरोहका दुई पाकिस्तानी नागरिक पक्राउ
कपिलवस्तु — सुन चोरीमा संलग्न रहेको आरोपमा दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहका अनुसार उनीहरूलाई वैशाख ५ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलरसहित साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम, मलेसियन रिंगेट तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ।
स्थानीय तथा सुनचाँदी व्यवसायीलाई लक्षित गरी अपिरिचित व्यक्तिहरूले अल्मल्याएर सुन चोरी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
यसअघि चैत ३० गते नै २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनीहरूबाट प्राप्त सूचनाका आधारमा थप अनुसन्धान गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई कपिलवस्तु पुर्याई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध सुनसरीको इटहरी, मोरङको विराटनगर, रुपन्देहीको बुटवल र चितवनमा समेत सुनका गहना चोरीका उजुरी परेका छन्।