रूख काट्दा दुर्घटना : बेलकोटगढीमा एकको मृत्यु, दुई गम्भीर घाइते
नुवाकोट — बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आफैँले काटेको रुखले लागेर ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार दुर्घटना अचानक भएको थियो।
दुर्घटनामा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल घाइते भएका छन्। उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुवैको अवस्था गम्भीर रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।