मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ घर नष्ट
क्वालालम्पुर — मलेसियाको बोर्नियो टापुस्थित सन्दकन जिल्ला अन्तर्गतको एक तटीय बस्तीमा भएको भीषण आगलागीले ठूलो मानवीय सङ्कट निम्त्याएको छ।
आइतबार बिहान समुद्रमाथि काठका खम्बामा बनेका घना आवासीय घरहरूमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्ण रूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन्।
अग्नि तथा उद्धार विभाग का अनुसार आगलागी ‘पानी गाउँ’ भनेर चिनिने तटीय बस्तीमा सुरु भएको हो। काठ र अन्य अत्यन्त ज्वलनशील सामग्रीबाट बनेका घरहरू अत्यन्तै नजिक–नजिक भएकाले आगो छिट्टै फैलिएको थियो।
अधिकारीहरूले तीव्र हावा, घना बस्ती र साँघुरो पहुँचमार्गका कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको बताएका छन्। ज्वारभाटाका कारण पानीको सतह घट्दा उद्धार कार्य थप जटिल बनेको थियो।
घटनामा हालसम्म कुनै मानवीय मृत्यु पुष्टि नभए पनि हजारौँ स्थानीयवासी विस्थापित भएका छन्। उनीहरूलाई अस्थायी शिविरहरूमा सारिएको छ र राहत तथा पुनःस्थापनाको काम अघि बढाइएको छ।
स्थानीय प्रशासनले प्रारम्भिक रूपमा खाना पकाउने क्रममा आगो सुरु भएको हुनसक्ने अनुमान गरे पनि वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
प्रधानमन्त्री अनवर इब्राहिम ले संघीय र राज्यस्तरीय निकायहरूले राहत तथा उद्धार कार्य समन्वय गरिरहेको र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।
सबाह क्षेत्रका यस्ता तटीय ‘पानी गाउँ’हरू प्रायः न्यून आय भएका तथा सीमान्तकृत समुदायको बसोबास क्षेत्र मानिन्छन्। पूर्वाधारको कमी र घना आवास संरचनाका कारण यस्ता बस्तीहरू आगलागीको उच्च जोखिममा रहने गरेका छन्।
यस घटनाले समुद्रमाथि बनाइएका यस्ता अनौपचारिक बस्तीहरूको दीर्घकालीन सुरक्षित व्यवस्थापन आवश्यकतामाथि पुनः ध्यान केन्द्रित गरेको छ।