राप्ती नदीमा १७ घडियाल गोहीका गुँड भेटिए
चितवन — चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राप्ती नदीमा १७ वटा घडियाल गोहीका गुँड फेला परेका छन्।
निकुञ्जले गत चैत १ गतेदेखि गोहीका गुँड खोज्ने अभियान सुरु गरेको थियो। सूचना अधिकारी अविनाश थापा मगर का अनुसार बोटे समुदायका दुई जनाको सहयोगमा गुँड पहिचान गरिएको हो।
उनका अनुसार वैशाख १० गतेदेखि गुँडमा रहेका अण्डा सङ्कलन गर्ने तयारी गरिएको छ। “अहिले गुँड पहिचानको काम सकिएको छ, अब कुन गुँडबाट अण्डा निकाल्ने भन्ने निर्णयपछि सङ्कलन सुरु हुन्छ,” उनले बताए।
सङ्कलित अण्डाहरू निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिनेछ। त्यसपछि हुर्किएका चल्लाहरूलाई पुनः नदीमा छाडिने व्यवस्था छ।
यसअघि राप्ती र नारायणी दुवै नदीमा गुँड खोज्ने गरिएको भए पनि यस वर्ष भने राप्ती नदीमा मात्र केन्द्रित गरिएको निकुञ्जले जनाएको छ।