प्रधानमन्त्री शाहद्वारा गृह मन्त्रालय आफैं सम्हाल्ने निर्णय
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले हालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले तत्कालका लागि आफ्नो मातहतमा राख्ने निर्णय गरिएको हो।
गुरुङले विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सेयर कारोबारसँग सम्बन्धित विषयहरूमा आफ्नो नाम जोडिएपछि छानबिन सहज बनाउन भन्दै गृहमन्त्री पदबाट राजीनामा दिएको बताइएको छ।
सरकार गठन भएको २६ दिनमै गृहमन्त्रीले पद छाडेका हुन्। उनले केही दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरणबारे पनि प्रश्न उठेपछि थप आलोचना भइरहेको थियो। साथै, उनी नेतृत्वमा रहेको ‘हामी नेपाल’ नामक संस्थामार्फत भएको आर्थिक कारोबारबारे समेत प्रश्न उठेपछि दबाब बढेको बताइन्छ।
सोही परिस्थितिका बीच गुरुङले प्रधानमन्त्री शाहलाई राजीनामा बुझाएका हुन्।
नयाँ गृहमन्त्री नियुक्त नभएसम्मका लागि प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएपछि सुरक्षा तथा प्रशासनिक संयन्त्रमा सरकारको प्रत्यक्ष निगरानी बढेको विश्लेषण गरिएको छ।