लोकप्रियतावादको जगमा नयाँ शक्ति उदाएको पोखरेलको टिप्पणी
नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम बैठक सुरु भएको छ। बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरेका छन्।
उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताबारे स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन राजनीतिक दृष्टि नभएको बताएका छन्। उनका अनुसार यस्ता शक्तिहरू तत्काल लोकप्रियता कमाउने वाचा गर्दै अघि बढे पनि व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ।
पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘नयाँ र पुरानो अनुहार’ भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको आरोप लगाए। उनले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने बताउँदै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गरे।
उनले पार्टीले अब नयाँ ढङ्गले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने उल्लेख गर्दै अन्ततः जनताले स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गरे।