बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, मानवअधिकारको चुनौती
बाँके कारागारमा सात सय कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ८८९ कैदीबन्दी र थुनुवा राखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम नेपालले गरेको संयुक्त अनुगमनले यस अवस्था उजागर गरेको हो।
अनुगमनमा कैदीबन्दीहरूले एउटै कोठामा १२ देखि ४० जनासम्म बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनमा व्यवस्थित सुविधा नहुँदा समस्या भोग्नुपरेको बताएका छन्।
एड्भोकेसी फोरमका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले भने, “कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी हुनु मानव अधिकार उल्लङ्घनको गम्भीर विषय हो। आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया र शिक्षा सुनिश्चित गर्न तत्काल कदम चालिनु आवश्यक छ।”
त्यसैगरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष पनि अनुगमन गरेको थियो। त्यहाँ हाल ६१ जना थुनुवा रहेका छन्, केही थुनुवाको अनुसन्धान म्याद थप नभएको अवस्थामा रहेको पाइएको छ।
अनुगमन टोलीले कारागार व्यवस्थापन, कैदीबन्दीको दैनिक जीवन र आधारभूत मानव अधिकारमा देखिएका चुनौतीहरूको विस्तृत अध्ययन आवश्यक रहेको निष्कर्ष निकालेको छ। इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले पनि थुनुवाको स्वास्थ्य सेवा र खानाको गुणस्तर सुनिश्चित गर्न आग्रह गरेका छन्।
नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी छन्। टोलीले आवास क्षमता बढाउने, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह, शिक्षा र धार्मिक अभ्यासको प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएको छ।