इन्धन मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न व्यवसायीको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ बढाएपछि महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका महासचिव डकनाथ गौतमका अनुसार सार्वजनिक यातायात इन्धनमा निर्भर हुने भएकाले मूल्यवृद्धिले व्यवसायमा प्रत्यक्ष असर परेको छ।
महासंघले २०७८ फागुन २२ गतेयता भाडा समायोजन नभएको उल्लेख गर्दै वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ। साथै संघीय रुटका लागि यातायात व्यवस्था विभाग र प्रदेश रुटका लागि सम्बन्धित प्रदेश मन्त्रालयबाट छिटो निर्णय गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।