जापानमा सुत्केरी बिदा लिने पहिलो मेयर विवादमा, लैङ्गिक विभेदबारे बहस चर्कियो
जापानको पश्चिमी सहर यावाताकीकी मेयर शोको कावाताले पहिलो सन्तान जन्माउन सुत्केरी बिदा लिने घोषणा गरेपछि त्यसले देशभर नयाँ बहस सुरु गराएको छ। ३५ वर्षीया कावाता जापानको इतिहासमा सुत्केरी बिदा लिने पहिलो मेयर बन्ने तयारीमा छन्। तर उनको निर्णयको विरोध गर्दै केहीले जनप्रतिनिधिले व्यक्तिगत जीवनभन्दा सार्वजनिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन्।
करीब ६८ हजार जनसंख्या रहेको यावाताकीकी मेयर कावाताले आफूले गर्भावस्थाका कारण केही समय बिदा लिन लागेको जानकारी दिएपछि विशेषगरी सामाजिक सञ्जालमा आलोचना भएको हो। कावाताले भने यस घटनाले जापानी समाजमा अझै पनि महिलाप्रति रहेको विभेदलाई उजागर गरेको प्रतिक्रिया दिएकी छन्।
उनको निर्णयले जापानमा कामकाजी महिलाले मातृत्वका कारण भोग्नुपर्ने चुनौतीमाथि पुनः राष्ट्रिय बहस सुरु भएको छ। जापानमा मातृत्वका आधारमा हुने विभेदलाई ‘माताहारा’ (मातृत्व उत्पीडन) भनेर चिनिने गरिन्छ। करियरमा असर पर्ने डरले धेरै महिलाले लामो सुत्केरी बिदा लिनसमेत हिच्किचाउने अवस्था रहेको बताइन्छ।
जापानमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता अझै न्यून छ। पछिल्लो तथ्याङ्कअनुसार देशभरका करिब १,७४० स्थानीय तहका प्रमुखमध्ये चार प्रतिशतभन्दा कम मात्र महिला छन्। यस्तै, संसदमा पनि महिला सांसदको संख्या बढे पनि उनीहरूका लागि आवश्यक पूर्वाधार पर्याप्त नभएको भन्दै यसअघि करिब ६० जना महिला सांसदले संसद भवनमा महिलाका लागि थप शौचालय निर्माण गर्न माग गरेका थिए।
विश्लेषकहरूका अनुसार मेयर कावाताको सुत्केरी बिदाको विषयले जापानमा कार्यस्थल र राजनीतिमा लैङ्गिक समानता, मातृत्व अधिकार तथा महिला नेतृत्वप्रतिको सामाजिक दृष्टिकोणबारे पुनः व्यापक बहस सुरु गराएको छ।