स्वास्थ्य बिमा बोर्डद्वारा टिकटक–फेसबुक रिल्स भिडियो प्रतियोगिता घोषणा
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
बोर्डको १०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित प्रतियोगितामा सहभागी हुन स्वास्थ्य बिमासम्बन्धी विषय समेटेर अधिकतम एक मिनेटको रिल्स भिडियो तयार गर्नुपर्नेछ। सहभागीले भिडियो टिकटक वा फेसबुक रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्ने तथा चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्ने छ।
बोर्डका अनुसार भिडियोको मूल्यांकन लाइक, सेयर, कमेन्ट, भ्युज, सन्देशको स्पष्टता र सिर्जनात्मक प्रस्तुतीका आधारमा गरिनेछ। प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।