आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणका अनुसार गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका क्षेत्रमा लाइन मर्मतका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो।
बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत् कटौती हुनेछ। जीर्ण पोलको मर्मत तथा नयाँ पोल जडानका लागि उक्त समय निर्धारण गरिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
निर्धारित समयभन्दा अघि काम सकिएमा विद्युत् आपूर्ति नियमित गरिने प्राधिकरणले जनाएको छ। कटौतीका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना पनि गरेको छ।