सर्लाहीमा मतदान अधिकृतको निधन
सर्लाही, — प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ।
सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’मा मतदान अधिकृतको जिम्मेवारी सम्हालिरहेका ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस भएका थिए। उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो।
उपचारका क्रममा दिउँसो करिब ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए। चिकित्सकका अनुसार मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुनेछ।
महतोको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ। घटनापछि सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।