भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित अग्रस्थानमा
भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिएका छन्।
बिहीबार सम्पन्न मतदानपछि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार रन्जितले ३ हजार ४५२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले १ हजार ९८२ मत ल्याएका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ५२९ मत प्राप्त गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर १ यसअघि भएका प्रतिनिधि सभा निर्वाचनहरूमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव रहेको क्षेत्रका रूपमा चिनिँदै आएको छ। अघिल्ला निर्वाचनहरूमा नेमकिपाका प्रेम सुवालले लगातार जित हासिल गर्दै आएका थिए।
हाल मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।