इरानद्वारा डिएगो गर्सिया स्थित अमेरिका–बेलायत सैन्य आधारतर्फ क्षेप्यास्त्र प्रहार
इरानले हिन्द महासागरमा रहेको डिएगो गर्सिया टापुस्थित अमेरिका र बेलायतको संयुक्त सैन्य आधार शिविरतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। बेलायती प्रधानमन्त्री Keir Starmer ले इरानमाथि आक्रमणका लागि बेलायती सैन्य अखडा प्रयोगको अनुमति दिएपछि इरानले उक्त कदम चालेको बताइएको छ।
मेहर समाचार एजेन्सीका अनुसार इरानले दुई वटा मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये एक अमेरिकी युद्धपोतले बीचमै खसालेको र अर्को क्षेप्यास्त्र लक्ष्यमा पुग्न नसकी असफल भएको बताइएको छ।
डिएगो गर्सिया इरानबाट करिब ३,८०० किलोमिटर टाढा पर्ने रणनीतिक क्षेत्र हो, जहाँ अमेरिका लामो दूरीका बमवर्षक विमानहरू तैनाथ गर्दै आएको छ। यति टाढाको लक्ष्यमा इरानले क्षेप्यास्त्र प्रहार गरेको घटनाले अन्तर्राष्ट्रिय सैन्य वृत्तमा चासो बढाएको छ।
यसअघि बेलायतले इरानी सैन्य निशानामा आक्रमणका लागि आफ्नो सैन्य अखडा प्रयोग गर्ने अनुमति दिएको थियो, जसप्रति इरानी विदेशमन्त्री अब्बास अराघचीले कडा आपत्ति जनाउँदै आत्मरक्षाको अधिकार प्रयोग गर्ने चेतावनी दिएका छन्।