समानुपातिक सांसदलाई चैत ५ गते प्रमाणपत्र वितरण गरिने
काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार आयोग परिसरमा बिहान ११:३० बजे प्रमाणपत्र वितरण कार्यक्रम तय गरिएको छ।
आयोगले राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै उनीहरूलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। साथै, निर्वाचित सदस्यहरूलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइज फोटोसहित आवश्यक विवरण मंगलबारभित्र उपलब्ध गराउन आग्रह गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि छ वटा राजनीतिक दलहरूले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट जितेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ।
आयोगले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूर्ण हुने जनाएको छ।