रास्वपाको बैठक चैत १२ मा, बालेनलाई दलको नेता बनाउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १२ गते बिहान सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ। बैठकबाट वरिष्ठ नेता बालेन्द्र साह लाई संसदीय दलको नेता बनाउने प्रस्ताव अघि बढाइने तयारी गरिएको छ।
सचिवालयबाट प्रस्ताव पारित भएपछि केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्नेछ। दुवै निकायबाट निर्णय भएसँगै बालेनलाई औपचारिक रूपमा संसदीय दलको नेता बनाइने योजना रहेको छ।
रास्वपाले स्थापना भएको करिब चार वर्ष बितिसक्दा पनि पहिलो महाधिवेशन गर्न नसकेको अवस्थामा विधान परिमार्जनका विषयमा पनि यही बैठकले निर्णय गर्नेछ। यही प्रयोजनका लागि सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम पनि चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ। सोअघि नै पार्टी बैठकमार्फत आवश्यक निर्णय गरिसक्ने तयारी रहेको नेता गणेश पराजुली ले बताएका छन्।
उनका अनुसार शपथअघि नै दलको नेता चयन गर्ने प्रक्रिया टुंग्याइनेछ, जसले संसद् सम्बन्धी आगामी प्रक्रियालाई सहज बनाउनेछ।
चैत १३ मा प्रधानमन्त्री शपथको तयारी
संसद् सचिवालयका अनुसार बालेन्द्र साह ले चैत १३ गते रामनवमी का दिन प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको छ। मन्त्रीहरूको शपथबारे भने अझै स्पष्ट जानकारी आएको छैन।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले पनि सोही दिन बालेन प्रधानमन्त्री बन्ने बताएका छन्।
यसअघि संसदीय दलको बैठक बसेर बालेनलाई औपचारिक रूपमा दलको नेता चयन गर्नेछ, जसले उनलाई प्रधानमन्त्रीका लागि अघि सार्ने निर्णय गर्नेछ। पार्टीभित्र आवश्यक विधान परिमार्जन र नीतिगत निर्णय पूरा भएपछि मात्रै बालेन प्रधानमन्त्री बन्ने नेताहरूको भनाइ छ।
दलको बैठक चैत १३ गते शपथअघि बस्नेछ र सोही बैठकले बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गर्ने तयारी गरिएको छ।