कैलाली–३ मा रास्वपाका जगत जोशी अग्रस्थानमा, नेकपाका वीरमान चौधरी दोस्रो
कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का उम्मेदवार जगत जोशी अग्रस्थानमा पुगेका छन्।
सुरुवाती चरणमा अग्रता लिएका **नेपाली कम्युनिष्ट पार्टी (नेकपा)**का उम्मेदवार वीरमान चौधरीलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन्।
सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका–२, ३, ५, ७ र ९ को मतगणना सम्पन्न भएको छ। कुल ९ हजार ९९० मत गणना हुँदा रास्वपाका जोशीले २ हजार ६५२ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन्।
यसअघि वडा नम्बर २, ३ र ९ को मतगणना सम्पन्न हुँदा नेकपाका उम्मेदवार चौधरी अग्रस्थानमा रहेका थिए। पछिल्लो मतगणनासँगै स्थिति फेरिएको हो।
हालसम्मको मतपरिणामअनुसार:
जगत जोशी (रास्वपा) – २,६५२ मत
वीरमान चौधरी (नेकपा) – २,४०८ मत
विक्रम चौधरी (नागरिक उन्मुक्ति पार्टी) – १,५५२ मत
भीम बडुवाल (नेपाली कांग्रेस) – १,३१७ मत
गौरीशङ्कर चौधरी (नेकपा एमाले) – १,११० मत
वीरेन्द्र बम (राप्रपा) – ३७३ मत
सहायक निर्वाचन अधिकृत जोशीका अनुसार हालसम्म ५०७ मत बदर भएका छन्।
कैलाली क्षेत्र नम्बर ३ मा १ लाख ९ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।