बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बेलुका करिब ५ बजेतिर उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो। हाल प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको टोली खोजी कार्यमा खटिएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बर्दियालाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ।