इनिशा विक हत्या प्रकरणमा शीघ्र छानबिन र दोषीलाई कारबाही गर्न परिवारको माग
सुर्खेतमा हत्या गरिएकी १६ वर्षीया बालिका इनिशा विकको घटनामा छिटो छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ।
इनिशाका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन्।
उनीहरूले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र जघन्य अपराध दोहोरिन नदिन सम्बन्धित निकाय, नागरिक समाज र सरोकारवालाले गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।
गृहमन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिक जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको थियो।