नेपालमा वर्षा प्रणाली कमजोर, मौसममा सुधार—अब ठूलो वर्षाको सम्भावना न्यून
शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने प्रणाली कमजोर बन्दै गएपछि देशभर मौसममा सुधार आएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार बिहानजस्तो लगातार वर्षा अब नहुने बताएका छन्।
उनका अनुसार प्रिमनसुनका गतिविधि भने अझै कायम रहनेछन्। आइतबार पनि आंशिक बदली रहने र कतैकतै हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। हाल विशेषगरी पूर्वी क्षेत्रसहित देशका केही स्थानमा भइरहेको हल्का वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।
मौसमविद् पोखरेलले अहिलेको प्रणाली बाहिरिए पनि प्रिमनसुन अवधिभर घाम लाग्ने र फेरि बदली हुने क्रम जारी रहने, तर तत्काल भारी तथा लामो वर्षा नहुने स्पष्ट पारे।
विभागको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै रूपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ।
हाल कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जुन क्रमशः सुधारतर्फ उन्मुख रहेको विभागले जनाएको छ।