सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या प्रकरण: प्रहरीद्वारा सरकारी वकिललाई प्रतिवेदन बुझाइयो
सुर्खेत — १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाही का अनुसार बुधबार प्रतिवेदन औपचारिक रूपमा बुझाइएको हो।
प्रहरीले मुख्य अभियुक्तका रूपमा घटनास्थलबाटै पक्राउ परेका एक जना अध्ययनरत किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको मागदाबी गरेको छ। त्यस्तै, अन्य तीन जनाको हकमा ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको प्रहरी स्रोतले जनाएको छ।
यद्यपि मृतकको डीएनए, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक रिपोर्ट र टक्सिकोलोजी रिपोर्ट भने अझै प्राप्त हुन बाँकी छ। एसपी शाहीका अनुसार केही परीक्षण नेपालमा सम्भव नभएकाले नमूना विदेश पठाइएको र रिपोर्ट आएपछि मृत्युको कारण थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वनको पार्कमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको उल्लेख गरेको छ।
यस प्रकरणमा चारै जना १८ वर्षभन्दा कम उमेरका भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार मुख्य अभियुक्तसँगै अन्य तीन जना घटनास्थलमा सहयोगका लागि पुगेको र समयमा उपचारमा नपुर्याएको आधारमा उनीहरूविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादुर महतका अनुसार प्रहरीको प्रतिवेदन अध्ययन भइरहेको छ। अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने र चित्त नबुझे प्रतिवेदन फिर्ता पठाउन सकिने उनले बताएका छन्।
यसअघि पनि घटनाले देशभर आक्रोश र विरोध प्रदर्शन जन्माएको थियो। पीडित परिवार भने अझै प्रतिवेदनप्रति असन्तुष्ट रहँदै शव बुझेका छैनन्, जसका कारण इनिशाको शव १९ दिनदेखि अस्पतालमै रहेको छ।