सिरहाको लहानमा मुसहर बस्तीमा अझै शौचालयको अभाव, स्वच्छता चुनौती
सिरहा — नेपाल खुला दिसामुक्त घोषणा भएको साढे ६ वर्ष बितिसक्दा पनि लहान नगरपालिका का मुसहर बस्तीमा स्वच्छताको अवस्था दयनीय रहेको पाइएको छ।
नगरपालिकाका वडा नं. १, २, ५, ९, १२ र २४ का मुसहर समुदायका धेरै परिवार अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। सुरक्षित आवास र जग्गाको अभावका कारण शौचालय निर्माण गर्न नसकिएको स्थानीयवासीको गुनासो छ।
नगरपालिका र वाटरएड ले गरेको सर्वेक्षणअनुसार २४ हजार ७०० घरपरिवारमध्ये १७ प्रतिशत अर्थात् ४ हजार २१० घरमा अझै शौचालय छैन।
नगर प्रमुख महेशप्रसाद चौधरीले समस्या गम्भीर रहेको स्वीकार गर्दै घर–घर पुगेर शौचालय निर्माण तथा भूमिहीनका लागि स्थानान्तरण प्रक्रिया अघि बढाइने बताए। हाल नगरपालिका र ‘विकन परियोजना’सँग मिलेर शौचालय निर्माण अभियान सुरु गरिएको छ।