रुसका क्रोकुस सिटी हल आक्रमणका १५ जना अभियुक्तलाई जन्मकैदको फैसला
रुसको एक सैन्य अदालतले सन् २०२४ मा मस्कोस्थित ‘क्रोकुस सिटी हल’ मा भएको भीषण आतंकवादी आक्रमणका १५ जना अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको छ। अदालतले कुल १९ जना अभियुक्तहरूलाई दोषी ठहर गर्दै बाँकी ४ जनालाई १९ देखि २२ वर्षसम्मको कारागार सजाय तोकेको छ।
जन्मकैद पाउनेहरूमा आक्रमणका चार मुख्य योजनाकारहरू शमसिदिन फरिदुनी, डालेर्जन मिर्जोयेभ, मुहम्मदसोबिर फायजोभ र साइदाक्रामी रचाबालिजोडा सहित ११ जना अभियुक्तहरू रहेका छन्।
मस्कोको अदालतले सबै अभियुक्तहरूलाई ५ लाख देखि २७ लाख रुबलसम्म जरिबाना तिराउनुका साथै पीडितहरूले दर्ता गरेका २७ वटा नागरिक दाबीहरूलाई पनि पूर्ण रूपमा सदर गरेको छ।
सन् २०२४ मार्च २२ को साँझ भएको उक्त आक्रमणमा १४९ जनाको मृत्यु भएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए। आक्रमणकारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै हलमा आगो समेत लगाएका थिए। रुसी अनुसन्धान अधिकारीका अनुसार यस घटनाका दुई मुख्य योजनाकार र अन्य चार सदस्यहरूको खोजी अझै जारी छ।