अफ्रिकन स्वाइन फिभरका कारण १२० बङ्गुर मरे
इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण १२० बङ्गुर मृत फेला परेको छ।
पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार थप एउटा फार्ममा पनि लक्षण देखिएपछि नमूना संकलन गरी परीक्षणका लागि पठाइएको छ।
अफ्रिकन स्वाइन फिभर उच्च मृत्यु दर भएको सरुवा रोग हो, जसले बङ्गुर–सुँगुरबीच प्रत्यक्ष सम्पर्क, मलमूत्र, मासु–दानापानी र खोरमा काम गर्ने मानिसबाट फैलिन सक्छ।
रोगको लक्षणमा उच्च ज्वरो, निला डाम, नाकबाट फिँज, कान–पुच्छर र पेटको छाला रातो हुनु, दानापानी छोड्नु, झोक्रिनु र बच्चा तुहिनु समावेश छन्।
रोकथामका लागि खोरमा थुनेर पालन, अनावश्यक आवत–जावत रोक्ने, जैविक सुरक्षा अपनाउने, नयाँ बङ्गुर २१ दिन क्वारेन्टाइनमा राख्ने र खोरको नियमित सरसफाइ गर्नुपर्ने उल्लेख गरिएको छ।