लामिछानेमाथि अभियोगपत्र फिर्ता सम्बन्धी रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा हुनेछ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। गत पुस ३० गते लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउन भनिएको थियो।
यस निर्देशन ‘बदनियतपूर्ण’ भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले सर्वोच्चमा छुट्टाछुटै रिट दायर गरेका छन्।
सुनुवाइले महान्यायाधिवक्ताको निर्देशन कायम रहने कि नहुने भन्ने टुंगो लगाउनेछ।