पर्सामा प्रतिनिधिसभा निर्वाचनका लागि १,०९० अस्थायी मतदाता तयार
पर्सामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार ९० अस्थायी मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार यी मतदाता सरकारी कर्मचारी, सुरक्षा निकायका सदस्य र कारागारका कैदीबन्दी हुन्।
जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको छ। वीरगञ्ज कारागारमा रहेका ३५ कैदीबन्दीले पनि समानुपातिक निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले आफू खटिएको ठाउँमै मतदान गर्नेछन् भने अन्य मतदाताले जिल्ला हुलाक कार्यालय र कारागारमा मतदान गर्न सक्नेछन्।
पर्साका चार निर्वाचन क्षेत्रमा १०७ उम्मेदवार छन्। यसमध्ये ४६ जना स्वतन्त्र उम्मेदवार (७ महिला, ३९ पुरुष) र ६१ जना राजनीतिक दलका उम्मेदवार (५ महिला, ५६ पुरुष) रहेका छन्। प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न आवश्यक तयारी पूरा गरेको बताएका छन्।