चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य जिल्लामा पनि पानी
काठमाडौं — मौसम बदली भएसँगै बिहीबार दिउँसो देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवन, गोरखा र उदयपुरमा भारी वर्षा मापन गरिएको छ।
विभागको अभिलेखअनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा उदयपुरमा ८२.२ मिलिमिटर मापन गरिएको छ। त्यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ भने चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।
विभागका अनुसार उदयपुरको कटारी र गोरखाको बारपाक क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ। मापनका आधारमा यी तीनवटै स्थानमा भारी वर्षा भएको मानिन्छ। चौबीस घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई भारी वर्षा मानिने प्रावधान रहेको विभागले जनाएको छ।
यसैबीच देशका अन्य विभिन्न जिल्लामा पनि वर्षा भइरहेको छ। विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया र कास्कीलगायत जिल्लामा पनि पानी परेको छ।
यस वर्षापछि वायुप्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन्।