जेन–जी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं — गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार तथा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार आन्दोलनका क्रममा भएको आगजनी तथा विध्वंशमा संलग्नहरूमाथि अभियोजन अघि बढाइएको हो।
सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रअनुसार उनीहरूले सर्वोच्च अदालतमा आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्याएका छन्।
त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा आशीष गुरुङविरुद्ध पनि आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।
प्रहरी वृत्त बौद्धमा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा दायर गरिएको छ भने प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि अभियोजन गरिएको छ।
भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै सर्वोच्च अदालतले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान पूरा गरी अभियुक्तहरूविरुद्ध मुद्दा दायर गरेको हो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ। उनलाई उच्च अदालत पाटनअन्तर्गतको सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरिसकेको जनाइएको छ।