राष्ट्रिय स्वतन्त्र पार्टी दाङ–३ को कार्यालयमा तोडफोड प्रयास, विवाद बढ्दै
८ फागुन, दाङ — दाङ क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड प्रयास भएको छ। तुलसीपुरस्थित कार्यालयमा शुक्रबार साँझ करिब ६ बजेतिर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताले तोडफोड गरेको आरोप लगाइएको छ।
रास्वपा क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालयमा तोडफोड गरिएको जानकारी दिएका छन्। ‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ उनले भने, ‘कसले र किन गरेको भन्ने विषयमा बुझ्दैछु।’
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा केही युवाहरूले युवा संघ र एमालेको नारा लगाउँदै ब्यानर च्यात्ने तथा तोडफोड गर्ने प्रयास गरेको देखिन्छ।
यसअघि बिहीबार राति रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रममा भीडका बीच केही व्यक्तिले एमालेको झन्डा जलाएको भिडियो भाइरल भएको थियो। उक्त घटनाप्रति एमालेले गम्भीर आपत्ति जनाएको थियो। सोही विषयलाई लिएर विवाद चर्किएको बताइएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीका अनुसार ठूलो तोडफोड हुन नदिइएको दाबी गरिएको छ। ‘ब्यानर च्यातेर तोडफोडको प्रयास गरिएको रहेछ, हामीले रोकेर ठूलो क्षति हुन दिएनौं,’ उनले भने, ‘कसले गरेको भन्ने खुलेको छैन।’
एमाले कार्यालय नजिकै भएकाले युवा संघ संलग्न हुन सक्ने आशंका गरिएको उनले बताए।
यसैबीच, एमालेको झन्डा जलाएको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।