बंगलादेशमा पहिलोपटक सत्ताच्यूत हसिनापछि आम निर्वाचन: मतदान जारी
काठमाडौं, फागुन १२ — बंगलादेशमा सत्ताच्यूत पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनपछिको पहिलो आम निर्वाचन आज चलिरहेको छ। नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहनेछ।
बीबीसीका अनुसार करिब १२ करोडभन्दा बढी बंगलादेशी मतदाताले मतदानमा भाग लिँदै छन्। सन् २०२४ मा भएको ठूलो विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएको थियो।
हसिना देश छोडेर जाँदा नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो।
गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधको आरोपमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको फैसला गरेको थियो। यसैबीच, उनको पार्टी अवामी लिगमाथि आगामी निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
आजको चुनावमा मुख्य रूपमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिष्पर्धा रहेको छ। जमात–ए–इस्लामीले केही साना विद्यार्थी आन्दोलनसँग सम्बन्धित पार्टीहरूसँग गठबन्धनसमेत गरेको छ।
बंगलादेशमा आज हुने निर्वाचनलाई देशको राजनीति परिवर्तन गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, जसले पुरानै राजनीतिक ढाँचालाई चुनौती दिँदै नयाँ नेतृत्वको सम्भावना खोल्ने अनुमान गरिएको छ।