प्रतिनिधिसभा निर्वाचनः भक्तपुरमा घरदैलो अभियान तीव्र, क्षेत्र नं. २ मा कडा प्रतिस्पर्धा
भक्तपुर — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरूले आजदेखि घरदैलो अभियान तीव्र पारेका छन्। भक्तपुर क्षेत्र नं. १ र २ मा उम्मेदवारी दिएका प्रमुख दलका उम्मेदवारहरूले आज बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर प्रचारप्रसार सुरु गरेका हुन्।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू सक्रिय रूपमा घरदैलोमा जुटेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढ्दै गएको छ। प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरू विकासका एजेण्डा लिएर घरघर तथा टोलटोलमा पुग्न थालेका छन्। यस क्षेत्रलाई यस वर्षको निर्वाचनमा चासोको केन्द्रका रूपमा हेरिएको छ।
यस क्षेत्रमा नेकपा (एमाले) का सचिव महेश बस्नेतले लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। २०७० सालमा कांग्रेसका रामेश्वर ढुङ्गेलसँग पराजित भएका बस्नेतले २०७४ मा कांग्रेसका दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए। तर २०७९ को निर्वाचनमा कांग्रेसका दुर्लभ थापासँग ९५९ मतको अन्तरले पराजित भएका थिए।
यसपटक बस्नेतसँगै नेपाली कांग्रेसबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेकपाबाट दिपशिखा प्रतिस्पर्धामा छन्। क्षेत्र नं. २ मा यसअघि विभिन्न समयमा कांग्रेस, एमाले र नेमकिपाका उम्मेदवारहरू निर्वाचित हुँदै आएका छन्।
एमालेका बस्नेतले ‘समृद्ध र सुखी भक्तपुर’को एजेण्डा अघि सारेका छन्। कांग्रेसका राणाले भक्तपुरको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन्। रास्वपाका उम्मेदवार राजीव खत्रीले नयाँलाई अवसर दिनुपर्ने मतदाताको चाहनालाई आत्मसात गर्दै संसदमा जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाएका छन्। नेकपाका उम्मेदवार रामप्रसाद सापकोटा (दिपशिखा) ले पनि विकास र राजनीतिक एकताको आधारमा जित सुनिश्चित हुने दाबी गरेका छन्।
यस क्षेत्रबाट नेमकिपाका रमेश वैद्य, राप्रपाका विक्रम थापा, उज्यालो नेपाल पार्टीका जितराम लामा, श्रम संस्कृति पार्टीका अर्जुन बासु, त्रीमुल नेपालका राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टीकी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पार्टी संयुक्तका लोककृष्ण दाहाल, जसपा नेपालका नवीन श्रेष्ठ, नेकपा माओवादीका प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनका पेम्वा घले, नेपालका लागि नेपाली पार्टीका राजेश बाडे लगायतका उम्मेदवारहरूले पनि घरदैलो अभियान तीव्र पारेका छन्।
यसैगरी, सविन महत, प्रदीपकुमार रूपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मी बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई र अनिता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा भक्तपुरमा चुनावी माहौल थप तातिएको छ।