चुनावी माहोलले प्रभावित फिल्म प्रदर्शन, ‘बिगुल’ र ‘श्री बुकुरो’ स्थगित
काठमाडौं । आसन्न निर्वाचनलाई कारण देखाउँदै फिल्म निर्माताले प्रदर्शन स्थगित गर्न थालेका छन्। मंगलबार एकैदिन प्रदर्शनरत दुई नेपाली फिल्मले एकसाथ हलबाट उतार्ने निर्णय गरेका हुन्।
चलिरहेका फिल्म बिगुल र श्री बुकुरो ले चुनावपछि नयाँ प्रदर्शन मिति घोषणा गर्ने भन्दै हालका लागि प्रदर्शन रोकेका छन्। ‘बिगुल’ले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि प्रदर्शन स्थगित गरिएको जनाएको छ।
‘श्री बुकुरो’को वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाल ले ६ फागुनदेखि प्रदर्शन स्थगित गरिएको जानकारी दिएको छ। कम्पनीका अनुसार फिल्म अब १८ वैशाखदेखि पुनः प्रदर्शनमा आउनेछ।
वितरक दीपक दंगालका अनुसार चुनावी संवेदनशीलतालाई मध्यनजर गर्दै फिल्महरूको प्रदर्शन रोकिएको हो। “चुनावपछिको उपयुक्त समयमा प्रदर्शन गर्ने उद्देश्यसहित अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गरेका छौं,” उनले भने।
दंगालले आफ्नो कम्पनीको अर्को फिल्म लालिमा २९ फागुनदेखि रिलिज हुने जानकारी दिए। चुनावी माहोलका कारण अधिकांश निर्माताले प्रदर्शन मिति हेरफेर गरिरहेका छन्।