नेकपाद्वारा घोषणापत्र सार्वजनिक, संविधान पुनरालोकन र निर्वाचन प्रणाली सुधार प्राथमिकतामा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा पार्टीका सातवटा नीतिगत प्राथमिकता निर्धारण गरिएका छन्। ती प्राथमिकतामध्ये निर्वाचन प्रणाली सुधारलाई महत्वपूर्ण एजेन्डाका रूपमा समेटिएको छ।
घ नम्बरको नीतिगत प्राथमिकताअन्तर्गत संविधानको पुनरालोकन तथा परिमार्जन गर्ने विषय उल्लेख गरिएको छ। शहीदहरूको बलिदानबाट प्राप्त संविधानलाई संरक्षण गर्दै कार्यान्वयनका क्रममा देखिएका जटिलता समाधान गर्न आवश्यक परिमार्जन गरिने घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी, नेकपाले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पूर्णता दिने प्रतिबद्धता पुनः दोहोर्याएको छ। सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
नेकपाले घोषणापत्रमार्फत राजनीतिक स्थायित्व, संविधानको प्रभावकारी कार्यान्वयन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने संकेत गरेको छ।