नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झन्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ
८ फागुन, काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झन्डा जलाएको आरोपमा दाङबाट एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा भीडका बीच केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा संलग्नताको पहिचान भएपछि बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।