देवरानीले कलेजो दान गरेर बचाइन् जेठानीको जीवन, प्रेम र त्यागको अनुपम उदाहरण
काठमाडौँ । हाम्रो समाजमा सासू–बुहारी तथा देवरानी–जेठानीबीचको सम्बन्धलाई प्रायः जटिल मानिन्छ। तर पोखराकी ३७ वर्षीया सुनीता खड्का कुँवरले आफ्नै जेठानी ४८ वर्षीया गंगाकुमारी थापा कुँवरलाई कलेजो दान गरेर सम्बन्ध केवल नाताले मात्र होइन, गहिरो प्रेम र त्यागले पनि मजबुत हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्।
लामो समयदेखि जन्डिसबाट पीडित गंगाकुमारीको अवस्था गम्भीर बनेपछि चिकित्सकले तत्काल कलेजो प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकाले। नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरूको टोलीले परीक्षण गर्दा उनलाई अटो इम्युन हेपाटाइटिसका कारण लिभर सिरोसिस भई कलेजो फेल भएको पुष्टि भएको थियो।
परिवारका अन्य सदस्यसँग मिलान हुन नसकेपछि देवरानी सुनीताको परीक्षण गर्दा रक्त समूह मिलेको र स्वास्थ्य अवस्था उपयुक्त देखिएपछि उनको कलेजो जेठानीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो। कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु शाहका अनुसार देवरानीले जेठानीलाई कलेजो दान गरेको यो घटना अत्यन्तै प्रेरणादायी र दुर्लभ छ।
यस जटिल शल्यक्रियामा हेपाटोलोजिस्ट, सर्जन, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर विशेषज्ञ, नर्सिङ तथा फिजियोथेरापी टोलीको संयुक्त प्रयास रहेको अस्पतालले जनाएको छ। हाल दुवै जना स्वास्थ्य लाभ गर्दै चिकित्सकको निगरानीमा रहेका छन्।
चिकित्सकहरूका अनुसार कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई जन्डिस, अटोइम्युन रोग तथा फ्याटी लिभरजस्ता समस्याले पनि गम्भीर क्षति पुर्याउन सक्छ। समयमै रोग पहिचान र उपचार गरेमा कलेजो जोगाउन सकिने उनीहरूको भनाइ छ।
नेपालमा हालसम्म भएका अधिकांश कलेजो तथा मिर्गौला प्रत्यारोपणमा अंग दान गर्नेमा महिलाको संख्या पुरुषभन्दा बढी रहेको तथ्यांक छ। छोरीले बाबुलाई, श्रीमतीले श्रीमानलाई तथा दिदीबहिनीले दाजुभाइलाई अंग दान गरेर जीवन बचाएका धेरै उदाहरण छन्।
अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार नेपालमा परिवारका सदस्य तथा नजिकका नातेदारले कानुनी प्रक्रिया पूरा गरी अंग दान गर्न सक्ने व्यवस्था छ।
देवरानी–जेठानीबीचको यो अनुपम त्याग र प्रेमको कथाले समाजमा अंगदानप्रतिको सकारात्मक सोच बढाउने विश्वास गरिएको छ।