नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उल्लेखनीय सुधार
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। साउनदेखि पुससम्मको अवधिमा निगमको आम्दानी र यात्रु सङ्ख्या दुवै गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको तथ्यांकले देखाएको छ।
निगमका अनुसार यस अवधिमा कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छ भने यात्रु सङ्ख्या १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्यामा सकारात्मक प्रभाव परेको निगमले जनाएको छ।
जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रु भारका साथ सञ्चालन भइरहेका छन्। आगामी दिनमा सेवा विस्तार र बजार व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिइएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।