सिड्नी बोन्डी बिच गोलीकाण्डका मुख्य आरोपी पहिलोपटक अदालतमा, कडा सुरक्षा व्यवस्था
काठमाडौँ — अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डका मुख्य आरोपी नविद अकरम सोमबार पहिलो पटक अदालतमा उपस्थित भएका छन्। उक्त घटनामा १५ जनाको ज्यान गएको थियो।
उपचारपछि अस्पतालबाट रिहा गरिएका २४ वर्षीय अकरमलाई कडा सुरक्षा व्यवस्थाबीच भिडियो माध्यमबाट सुनुवाइमा सहभागी गराइएको हो। उनलाई हाल सिड्नीबाट करिब २०० किलोमिटर टाढा रहेको अधिकतम सुरक्षा कारागार गौलबर्न सुधार केन्द्रमा राखिएको छ। त्यहाँबाटै उनी सिड्नीको डाउनिङ केन्द्र स्थानीय अदालतमा भिडियोमार्फत उपस्थित भएका थिए।
हत्या तथा आतंकवादी गतिविधिसम्बन्धी गम्भीर अभियोग लगाइए पनि अकरमले हालसम्म दोषी वा निर्दोषबारे कुनै निवेदन दिएका छैनन्। सोमबारको संक्षिप्त सुनुवाइ मुख्यतः ‘मौन आदेश’ लाई निरन्तरता दिने विषयमा केन्द्रित थियो, जसअन्तर्गत पीडित र जीवित बचेका व्यक्तिहरूको पहिचान गोप्य राखिने व्यवस्था गरिएको छ।
प्रतिरक्षा पक्षका वकिलले अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अकरमको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र निवेदनबारे धारणा दिन अझै समय लाग्ने बताएका छन्।
डिसेम्बर १४ मा समुद्र तटमा आयोजित हनुक्का उत्सवका क्रममा भएको आक्रमणमा अकरम स्वयं घाइते भएका थिए। घटनापछि प्रहरीसँगको गोली हानाहानमा उनका पिता ५० वर्षीय साजिद अकरम मारिएका थिए। अकरम आगामी अप्रिल ९ मा पुनः अदालतमा उपस्थित हुने तय भएको छ।
यो घटना अस्ट्रेलियामा पछिल्ला २९ वर्षयताकै सबैभन्दा भीषण सामूहिक गोलीकाण्ड र हालसम्मकै गम्भीर आतंकवादी आक्रमणमध्ये एकका रूपमा अनुसन्धान भइरहेको छ। प्रहरी अनुसन्धान तीन आधिकारिक छानबिन प्रक्रियामध्ये एक हो।
अर्को छानबिनले कथित रूपमा इस्लामिक स्टेट समूहबाट प्रेरित भनिएको आक्रमणअघि कानून कार्यान्वयन निकाय र गुप्तचर निकायबीचको समन्वयको समीक्षा गर्नेछ। साथै शाही आयोगमार्फत यहुदीविरोधी गतिविधिको प्रकृति, फैलावट, कारण तथा बोन्डी गोलीकाण्डको समग्र पृष्ठभूमिबारे विस्तृत अध्ययन गरिने अपेक्षा गरिएको छ।
घटनाले अस्ट्रेलियामा राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र सामुदायिक सम्बन्धका विषयमा गम्भीर प्रश्न उठाएको विश्लेषकहरूले बताएका छन्।