निर्देशन र धम्कीले होइन, प्रणाली सुधारले विकास सम्भव हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्देशन दिएर, ठेकेदारलाई तर्साएर वा कर्मचारीलाई गाली गरेर विकास सम्भव नहुने स्पष्ट पारेका छन्। नेपालको पूर्वाधार विकास सुस्त हुनुमा सतही कारणभन्दा पनि प्रणालीगत समस्या मुख्य जिम्मेवार रहेको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले नारायणगढ–बुटवल सडक, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका परियोजनाहरू वर्षौंसम्म अलपत्र पर्नु विकासको ‘कन्तबिजोग’ भएको टिप्पणी गरे।
उनले सहरका सडकहरूमा समन्वय अभावका कारण बारम्बार खन्ने–पुर्ने काम हुँदा लागत बढ्नुका साथै समय र स्रोत दुवै खेर गएको बताए। “सडक बनेपछि खानेपानी, ढल र फाइबरका लागि पटक–पटक खन्ने प्रवृत्तिले देशले ठूलो अवसर लागत गुमाइरहेको छ,” उनले भने।
पूर्वाधार निर्माणमा ढिलासुस्ती हुनुको प्रमुख कारण पुरानो कानुनी संरचना रहेको उल्लेख गर्दै थापाले करिब तीन दर्जन ऐन संशोधन, परिमार्जन वा खारेज गर्नुपर्ने बताए। योजना छनोटमा राजनीतिक दबाबको अन्त्य गर्दै लागत–लाभ विश्लेषणका आधारमा परियोजना छनोट गर्नुपर्नेमा उनले जोड दिए।
सार्वजनिक खरिद प्रक्रियामा कम लागतलाई मात्र प्राथमिकता दिने प्रवृत्ति अन्त्य गरी ‘समयको मूल्य’ लाई महत्व दिनुपर्ने बताउँदै थापाले छिटो र गुणस्तरीय काम गर्ने कम्पनीलाई प्राथमिकता दिने कानुनी व्यवस्था आवश्यक रहेको बताए।
पारदर्शिता, सामाजिक परीक्षण र सुशासनलाई अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै उनले नयाँ वित्तीय उपकरणमार्फत पूर्वाधारमा लगानी जुटाउने योजना पनि प्रस्तुत गरे।
आगामी पाँच वर्षभित्र पूर्वाधार क्षेत्रमा रूपान्तरणकारी परिवर्तन गर्ने प्रतिबद्धता जनाउँदै थापाले भने, “जादु जस्तो चमत्कारको अपेक्षा गरेर होइन, कानुनी सुधार र संस्थागत क्षमताबाट मात्र विकास सम्भव हुन्छ।”