अर्थमन्त्री खनालद्वारा बागलुङमा निर्वाचन तयारी अनुगमन, भयरहित मतदानमा जोड
बागलुङ — अर्थमन्त्री रामेश्वर खनालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ जिल्लामा स्थलगत अनुगमन गर्दै सरोकारवालालाई निर्धक्क भएर चुनाव तयारी गर्न आग्रह गरेका छन्। उनले आमनागरिकले शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था सरकारले गरिरहेको जानकारी दिएका छन्।
खनालले मुख्यमन्त्री निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरे। अनुगमनपछि उनले जिल्लास्थित सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षा, प्रहरी परिचालन र आचारसंहिता कार्यान्वयनको अवस्था बुझेका थिए।
“निर्वाचन सफल बनाउन सबैको कर्तव्य हो। सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन,” मन्त्री खनालले भने। उनले निर्वाचनको समयमा गलत वा भ्रामक सूचना फैलिन नदिन सुरक्षा निकायलाई विशेष निर्देशन दिएका छन्।
बागलुङमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार बागलुङमा कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट २३ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।