एयुकेयुएस अन्तर्गत अस्ट्रेलियाले आणविक पनडुब्बी निर्माणका लागि अर्बौं डलर लगानी घोषणा
अस्ट्रेलिया । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस (AUKUS) सुरक्षा साझेदारी अन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलरको प्रारम्भिक लगानी घोषणा गरेको छ । यसलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गर्दै दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताएको छ ।
बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताअन्तर्गत अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीको फ्लीट उपलब्ध गराउने तथा उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने लक्ष्य राखिएको छ । योजना अनुसार सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुनेछ, जसलाई प्रशान्त क्षेत्रमा विशेषगरी चीनको बढ्दो प्रभाव सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।
सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गराउने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थल परियोजनाको केन्द्र हुने बताए । उनका अनुसार दीर्घकालमा सो क्षेत्रमा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानीले आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक भूमिका खेल्ने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पुर्याउने उल्लेख गरे ।
यसअघि अस्ट्रेलियाले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको थियो । एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको हो, जसले कूटनीतिक तनाव उत्पन्न गरेको थियो ।