मुस्ताङमा चुनावी माहोल तातिँदै, घरदैलो अभियान तीव्र
मुस्ताङ — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला मुस्ताङमा चुनावी चहलपहल विस्तारै बढ्न थालेको छ। निर्वाचनमा होमिएका उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन्।
जाडो छल्न बेँसी झरेका मतदाता फर्किन थालेसँगै उम्मेदवारहरू पनि लेकतिर उक्लिन थालेका छन्। मुस्ताङमा चार राजनीतिक दलका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरिसकेका छन्। यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मङ्गोल नेशनल अर्गनाइजेशन, उज्यालो नेपाल र आम जनता पार्टीका उम्मेदवारले घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले थासाङ गाउँपालिकाबाट घरदैलो सुरु गरेको बताए। उम्मेदवारी दर्तापछि पोखरा र काठमाडौँमा रहेका मुस्ताङी मतदातासँग भेटघाटमा व्यस्त रहेका उनी अहिले जिल्लामै रहेका मतदातासँग भेटिरहेका छन्।
उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. सुरेन्द्र शेरचनले माथिल्लो मुस्ताङमा घरदैलो सम्पन्न गरी काठमाडौँ फर्किएको जानकारी दिए। जाडोका कारण माथिल्लो मुस्ताङका दुई स्थानीय तहका ८० प्रतिशतभन्दा बढी मतदाता बेँसी झरेका थिए भने तल्लो मुस्ताङका करिब ५० प्रतिशत मतदाता पनि बेँसी झरेका थिए।
निर्वाचन तयारीलाई तीव्रता दिइएको छ। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार पाँचवटै स्थानीय तहअन्तर्गतका ९० प्रतिशत मतदानस्थलको स्थलगत अवलोकन सम्पन्न भइसकेको छ। मौसमले साथ दिए निर्वाचन सम्पन्न गर्न कठिनाइ नहुने उनले बताए।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार जिल्ला सुरक्षा योजना तयार भइसकेको छ र चारवटै सुरक्षा निकाय परिचालित छन्। निर्वाचन सुरक्षाका लागि २३५ जना नेपाल प्रहरी र २६६ जना निर्वाचन प्रहरी गरी ५०१ सुरक्षाकर्मी खटाइएको छ। सशस्त्र प्रहरीले पनि २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
निर्वाचनका लागि जिल्लाभरका ३९ मतदानस्थलमा २४० जना कर्मचारी र ८६ जना स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ।